काठमाडौं । नेपाली कांग्रेसका नेता एवं ओखलढुंगामा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार रामहरि खतिवडा ( Ramhari Khatiwoda ) ले आफू Member of Parliament नहुँदा पनि ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको दावी गर्दै जिल्लामा गठबन्धनका सबै उम्मेदवारले जित्ने उद्घोष गरेका छन् ।

‘गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस एक्लैले जिल्ला समन्वय समिति गठन गरेको हो । ३२ हजार मतका साथ कांग्रेस पहिलो पार्टी छ । यतिबेला कांग्रेसका साथीहरुबीच अभूतपूर्व एकता छ । हराउने ताकत कसैको छैन । त्यसमाथि गठबन्धन पनि छ । ओखलढुंगामा गठबन्धनका सबै उम्मेदवारले जित्ने स्थिति छ,’  खतिवडाले भने ।

उनले एमाले र त्यसको नेतृत्वप्रति जनताको पटक्कै विश्वास नभएको पनि बताए । खतिवडाले थपे, ‘जनताले दुई तिहाई बहुमत दिँदा पनि पानीजहाज, रेल, घरघरमा ग्यासपाइप जस्ता बकम्फुसे गफ गरेर बस्ने अनि निकास र विकास दिन नसक्ने एमालेलाई जनताले किन भोट दिने ? एमालेको नेतृत्वप्रति जनतामा विश्वासै छैन ।’

आफूले २०७० मा संविधानसभा जितेर सुरु गरेका काम विगत पाँच वर्षमा अलपत्र परेको पनि खतिवडाले बताए । उनले भने, ‘मैले काठमाडौं र ओखलढुंगाको पुल बनेर काम गरेको थिएँ । २०७४ मा मैले हार्नेबत्तिकै बत्ती, सडक पनि हारे । दूधकोसी हाई ड्याम पनि अगाडि बढेन । ओखलढुंगा, सोलुखुम्बु र खोटाङको मुहार पनि फेरिएन । ५० करोड, १ अर्बभन्दा योजना आएनन् ।’

अब लिखु, मोलुङ, दुूधकोसी एक्वायरलाई पूर्णता दिने र ओखलढुंगालाई विकास र समृद्धिको जिल्ला भनेर चिनाउने इच्छा भएको पनि खतिवडाले बताए । उनले भने, ‘सांसद बन्नेबित्तिकै घर बनाउने अनि घरभाडा लिएर खाने अनि जात र धर्मको कुरा गर्नेले ओखलढुंगाको मुहार परिवर्तन गर्न सक्दैन । मैले हार्दा पनि जनसेवक भएर काम गरेको छु । पाँच वर्षका १८२५ दिनमा ओखलढुंगा र काठमाडौंको पुलको काम गरेको छु । ओखलढुंगाको एम्बुलेन्स बनेर काम गरेको छु । आगलागी, बाढीपहिरो, भूकम्प, कोभिडका बेला पनि जनतासँगै हातेमालो गरेको छु ।’

Related News